(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा निजलाई तोकिएको अधिकारीले पाँचहजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूरबाट कसैको हानीनोक्सानी भएको रहेछ भने निजबाट त्यस्तो हानीनोक्सानी वापतको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।
(२) कसैले यस ऐन बमोजिम अनुमतिपत्र लिनुपर्नेमा सो नलिई वा अनुमतिपत्रमा उल्लेख भएका शर्तहरू पालन नगरी जलस्रोतको उपयोग गरेमा निजलाई तोकिएको अधिकारीले पाँचहजार रूपैयाँसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्नेछ ।
(३) यस ऐन बमोजिम विकास गरिएको जलस्रोत वा त्यस्तो जलस्रोतबाट उत्पन्न सेवा कसैले चोरी गरेमा वा दुरूपयोग गरेमा वा अनाधिकार प्रयोग गरेमा तोकिएको अधिकारीले निजबाट बिगो असूल गरी निजलाई बिगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(४)कसैले बदनियतसाथ कुनै खानेपानीको मुहान, बाँध, नहर वा जलस्रोतको उपयोगसित सम्बन्धित कुनै संरचना वा त्यस्तो संरचनामा असर पार्ने अन्य कुनै संरचना भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कुनै काम कुराको लागि दुरुत्साहन दिएमा
वा त्यस्तो काम गर्ने उद्योग गरेमा निजबाट हानीनोक्सानीको बिगो असूल गरी निजलाई बिगो बमोजिम जरिवाना वा दसवर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।